“मेरो देश” कविता को मुल भाव

“मेरो देश” कविता को मुल भाव
Spread the love

“मेरो देश” कविता को मुल भाव

कवि भूपी शेरचन (विसं १९९२-२०४६)द्वारा लिखित ‘मेरो देश’ कवितामा प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको वर्णनलाई एक उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । देशका बारेमा उत्पन्न भएका आफ्ना मनका विचारहरुलाई प्रस्तुत गर्ने जमर्को(कोशिश) यस कविताका माध्यमबाट देखाउन खोजिएको पाइन्छ ।

रातको समयमा हिउँ परेका हिमालहरू का साथमा धरतीलाई भेट्न जुन आउछ र धरतीलाई सर्वाङ्ग हाँसेको देखेर जुन फेरी मुस्कुराउदै आकाशतिर फर्कने गर्दछ ।आरुबखडा हाँगामा फुल्ने फूलहरू, पशुपंक्षी, विभिन्न भूभाग र नदीनालाहरूको आफ्नै पहिचान अथवा विशेषता आदिको बोध गराइएको पाइन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालमा बिहान सुर्यको किरण संगै जून आकाशमा फर्कने कुरा कवितामा उल्लेख भएको पाइन्छ । लोभ-लालचमा परेर आफ्नो राष्ट्रियता नै भुल्ने मानिसहरुदेखि धुपी र सल्लाहरु रुन्छन भन्दै आफ्नो कर्मशील, प्रकृतिप्रेमी र राष्ट्रप्रेमको भावना कविले यस कवितामा मार्फत प्रस्तुत गरेका छन् । निरन्तर बगिरहने छहरा, खोला, नदी, सधैं हाँसिरहने हिमचुली, अँध्यारोलाई उज्यालोमा परिणत गराउने जुनकिरी, थाकेको बटुवालाई जाँगरिलो बनाउने चिसो हावा, वातावरणलाई सुगन्धमय बनाउने कस्तुरी, सधैं संगीतमय धुन निकालेर कराउने चराचुरुङ्गी साथै प्रकृतिको वर्णन गरेर नसकिने  स्वर्गीय भूमिका रूपमा नेपाललाई हेर्न सकिन्छ । 

यसर्थ यस किसिमको प्राकृतिक सुन्दरताले भरिपूर्ण स्वर्गीय आनन्द प्राप्त गर्न सकिने देशलाई जुनसुकै स्थानमा भए पनि भुल्न सकिँदैन भन्दै कविले सपनामा समेत आफ्नै देशमा डुल्न सकिने विचारलाई प्रस्तुत गरेका छन्  । 

(Summary by Manish Pokharel – M.Ed in Nepali) Submitted by Adarsha Ghatani


Spread the love